४० करोड ठगेर बेपत्ता

पोखरा, भदौ १९। पोखरा लेखनाथ महानगरपालिका–१४ चाउथेमा बस्दै आएकी एक महिलाले व्यवसायी, आफन्त र छिमेकीलाई झण्डै रु ४० करोड ठगेर बेपत्ता भएकी छन् ।

डेढ दशकअघिदेखि धेरैसँग पैसाको लेनदेन र कारोबार गरेर मन जित्दै आएकी स्याङजा भाटखोला घर भई चाउथेमा बस्दै आएकी ४२ वर्षीया देवकुमारी भुजेल ५३ जनालाई ठगेर भागेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता खड्गबहादुर खत्रीले जानकारी दिए ।

पोखराको बिरौटा बस्दै आएकी प्रमिला रानाभाटले भुजेलले आफ्नो रु दुई करोड ठगिएको बताइन। पन्ध्र वर्षसम्म उनीहरुसँग आफूले लेनदेनको व्यवहार गर्दै आएकामा बेलाबेलामा लगेको पैसाको व्याज समयमै दिने र मागेका समयमा पैसा पनि फिर्ता गरिहाल्ने गरेकाले आफू विश्वासमा परेको उनले बताइन।

स्याङजा घर भई बगाले टोलमा बस्दै आएकी निर्मला शर्मा पराजुलीले आफू रु ९० लाख ठगिएको बताइन। अनेक बहाना गरेपछि आफूसँग भएको रु ८२ लाख र भाइसित मागेर रु आठ लाख भुजेललाई दिएको उनले बताइन ।

यस्तै बिरौटा बस्ने गायत्री अर्यालको रु ३५ लाख र मासवारकी सुशीला सिग्देलको रु १० लाख लिएर भुजेल भागेको प्रहरी प्रवक्ता खत्रीले बताए । भारतीय सेनाबाट सेवानिवृत्त लक्ष्मण थापा, एक छोरा र दुई छोरीसहित उनी बेपत्ता भएपछि ठगिएका महिलाले उनको खोजी गर्न प्रहरी कार्यालयमा निवेदन दिएका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!