मेरो काम देखेर एमालेले पनि मलाई प्रधानमन्त्री नछोड्नुस भन्यो : प्रचण्ड

सिमरा, भदौ १९ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो प्रधानमन्त्री कार्यकालमा गरेको राम्रा कार्यहरुको प्रभावका कारण एमालेका नेताहरुले पनि प्रधानमन्त्री पद नछोड्न आग्रह गरेको बताएका छन् ।

सोमबार सिमरामा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले आफू प्रधानमन्त्री बन्ने बेला लम्पसारवादी भन्नेहरुले समेत १० महिनासम्मको आफ्नो कार्यकालपछि प्रधानमन्त्री पद नछाड्न भनेको बताए ।

पूर्वप्रधानमन्त्री प्रचण्डले भने, ‘दश महिना मैले सरकारको नेतृत्व गर्दा देश र जनताको पक्षमा काम गरेको थिए ।’ उनले थपे ‘देशको विदेश नीति लड्खडाएको थियो, राष्ट्रिय एकता जोखिममा थियो, मधेश र पहाड एक आपसमा भिडेर देश नै भीडन्तमा जाने खतरा थियो । त्यस्तो परिस्थितिमा मैले दस महिनामा जुन काम गरें, त्यसबाट एमालेका साथीहरु पनि मलाई प्रधानमन्त्री नछोड भन्ने ठाउँमा आई पुग्नुभयो।’

प्रचण्डले त्यो स्थितिको सिर्जना हुनु भनेको आफ्नो कार्य क्षमताका कारण भएको दावी गरे । उनले भने, ‘त्यो मेरो कार्य क्षमता थियो जुन सामान्य मेहनतले भएको होइन।’

अध्यक्ष प्रचण्डले माओवादीकै नेतृत्वमा निजगढ बिमानस्थल, फास्ट ट्रयाक र हुलाकी मार्ग बन्न लागेको बताए। उनले ७‍.५ प्रतिशत आर्थिक वृद्धि, मूल्य नियन्त्रण, विकास आयोजनाहरुमा तिब्रता, लोडसेडिङको अन्त्य जस्ता काम पनि आफ्नै नेतृत्वमा भएको दावी गरे।

नेपालमा अहिले दुई खाले अतिवाद हाबी भएको भन्दै उनले अतिवादले देशको हित नगर्ने बताए ।

कमेन्ट गर्नुहोस्