आंशिक प्राध्यापकले सशक्त आन्दोलन गर्ने

काठमाडौँ, भदौ १९ । आंशिक प्राध्यापकहरुको आन्दोलनले निकास नपाए सशक्त आन्दोलनमा उत्रने भएका छन् । विश्वविद्यालय अनुदान आयोगको आगामी बुधबार हुने छलफलले निकाश नदिए थप आन्दोलित हुने भएका हुन् ।

एकचालीस दिनदेखि त्रिवि केन्द्रीय कार्यालय अगाडि रिले अनशनमा बसेका नेपाल आंशिक प्राध्यापकहरु बुधबार हुने विश्वविद्यालय अनुदान आयोगको छलफल र परिणाम कुरेर बसेका छन् । छलफलमा आंशिक प्राध्यापकको दरबन्दीको विषय रहेको छ ।

नेपाल आंशिक प्राध्यापक संघका अध्यक्ष शशी कुमार शर्माले भने ‘विश्वविद्यालय अनुदान आयोगको छलफलले गरिएका सहमतिहरु क्रमशः शिक्षा मन्त्रालय, अर्थ र क्याविनेटसम्म पुगे र माग सम्बोधन भए सम्पूर्ण आन्दोलन फिर्ता हुनेछ, नत्र हाम्रो आन्दोलनले नयाँ गति लिने र समस्या झनै बिकराल बन्न सक्नेछ ।’

रिले अनशन जारी रहँदै प्रधानमन्त्री निवास बालुवाटारमा दैनिक बिहान धर्नापनि सुरु गरिएको छ । उच्च स्रोतका अनुसार प्रधानमन्त्री एवम् कुलपति शेरबहादुर देउवा आंशिकको समस्यालाई यसपटक नै समाधान गरेर आगामी दिनमा कडाई गर्ने सोचमा रहेका छन् । यदि यसपटक १४ सय २० आंशिक प्राध्यापकहरुको समस्याले निकाश पाए विश्वविद्यालयले गति लिने विश्वासपनि गरिएको छ ।

विश्वविद्यालयका मुख्य पदाधिकारीहरुको महत्वपूर्ण सीमाभित्रै कछुवा गति देखाउनाले समस्याको समाधान हुन सकेको छैन । अपरिहार्यतालाई गम्भीर रुपमा नलिँदा समाधान टाढा भैरहेको यो अवस्थामा अनुदान आयोगको बैठकबाट सकारात्मक सन्देश आउने विश्वास गरिएको छ । ०६३, ०६५, ०६६, ६९ मा पटक—पटक झेलिएका आंशिक प्राध्यापकहरु यस आन्दोलनलाई पूर्णता प्राप्तिमा एकइन्च कम नगर्ने बताउँदै आएका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!