भ्रष्टाचारीले चुनाव लड्न नपाउने !

काठमाडौं, भदौ १९ । ‘प्रमाणित भ्रष्टचारी’ले पनि निर्वाचनमा भाग लिन पाउनुपर्छ भन्ने माग राख्दै आएका कांग्रेस सांसदहरुले सो संसोधन फिर्ता लिएका छन्।

कांग्रेसका सांसद आनन्दप्रसाद ढुंगाना, राधेश्याम अधिकारी, पद्मनारायण चौधरी, भरतबहादुर खड्का, पुष्कर आचार्य, मीनाक्षी झा, किरण यादव, अमृतलाल राजवंशी, नरबहादुर चन्दलगायत १९ सांसदले छुट्टाछुट्टै संशोधन दर्ता गरी नैतिक पतन प्रमाणित भई सजाय पाएकालाई ३ वर्षपछि उम्मेदवारी दिन पाउने संशोधन प्रस्ताव दर्ता गराएका थिए । यसले गर्दा संसदमा निकै आलोचना खेप्नु परेको थियो ।

समाजिक संञ्जालहरुमा समेत यस प्रस्तावविरुद्ध विभिन्न टिप्पणीहरु आएका थिए । अन्ततः कांग्रेसले संशोधन विधेयक फिर्ता लिएपछि भ्रष्टाचार, बलात्कारजस्ता मुद्दामा दोषी ठहरिएका व्यक्तिले प्रदेश र केन्द्रको चुनावमा भाग लिन नपाउने भएका हुन् ।

भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागुऔषध बिक्री–वितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण,राहदानी दुरुपयोग, अपहरणसम्बन्धी कसुर नैतिक पतन अन्य फौजदारी कसुरमा सजाय पाई वा कुनै पनि कसुरमा जन्मकैद वा २० वर्ष वा सोभन्दा बढी कैद सजाय पाई त्यस्तो फैसला अन्तिम भएका व्यक्तिहरु समेत उम्मेदवार बन्न नपाउने प्रावधान छ ।

कांग्रेसले संशोधन प्रस्ताव फिर्ता लिएपछि उक्त विधेयक पारित भएको हो ।

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनसम्बन्धी उक्त विधेयक सोमबार नै संसदमा पेस गर्ने तयारी भएको छ ।

डेढ महिनादेखि अड्केर बसेको उक्त विधेयकका कारण निर्वाचन आयोगलाई निर्वाचन प्रक्रिया अघि बढाउन अफ्ठारो परेको थियो । विधेयक पारित भएसँगै चुनाव गराउन आयोगलाई सजिलो भएको छ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!