शान्तिपूर्ण र निष्पक्ष निर्वाचनका लागि सबैको सहयोग आवश्यक : गृहमन्त्री

जनकपुर, भदौ १८ । शान्तिपूर्ण र निष्पक्ष ढंगले निर्वाचन सम्पन्न गराउन  सबैको सहयोग र सहभागिता आवश्यक रहेको गृहमन्त्री जनार्दन शर्माले बताएका छन ।

आउँदो असोज २ गते हुने तेस्रो चरणको स्थानीय तह निर्वाचन सन्दर्भमा प्रदेश नं २ को सुरक्षा व्यवस्थासम्बन्धी गोष्ठी आइतबार जनकपुरधाममा सम्पन्न भएको छ ।

सो अवसरमा गृहमन्त्री जनार्दन शर्माले २ नं प्रदेशमा हुने स्थानीय तहको निर्वाचनमा राष्ट्रिय जनता पार्टीलगायत सबै दलको सहभागिताले राम्रो वातावरण बनेको बताए ।

सरकारले संविधानलाई सर्वस्वीकार्य बनाउनु र राजनीतिक स्थायित्वलाई मुख्य उद्देश्यका रूपमा लिएकाले शान्तिपूर्ण र निष्पक्ष ढंगले निर्वाचन सम्पन्न गराउने कार्यमा सबैको सहयोग र सहभागिता आवश्यक रहेको मन्त्री शर्माले बताए ।

क्षेत्रीय प्रशासक, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रहरी महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, नेपाली सेनाका निर्देशक उपरथी र आठ जिल्लाका सुरक्षा निकायका प्रमुखको सहभागिता रहेको सो गोष्ठीमा निर्वाचनको सुरक्षा योजना बारेमा छलफल भएको थियो ।

गृहसचिव लोकदर्शन रेग्मीको अध्यक्षतामा भएको सो गोष्ठीमा गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव रामकृष्ण सुवेदी, नेपाली सेनाका निर्देशक उपरथी देवकुमार सुवेदी, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक दिलीपकुमार रेग्मी, सशस्त्र प्रहरी बलका महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, प्रहरी महानिरीक्षक प्रकाश अर्याललगायत सुरक्षा अधिकारीले निर्वाचनको सुरक्षा व्यवस्था र चुनौतीबारे जानकारी गराएका थिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!