जनप्रतिनिधिका छोराछोरीले निजी विद्यालयमा पढ्न नपाउने

बाजुरा, भदौ १८ । सरकारी, गैरसरकारी र जनप्रतिनिधिका छोराछोरीले निजी क्षेत्रमा सञ्चालन हुँदै आएका विद्यालयमा पढ्न नपाउने भएका छन् ।

नगरभित्रको शैक्षिक अवस्था सुधार गर्नका लागि नगरभित्रका सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारी र नवनिर्वाचित जनप्रतिनिधिका बालकालिकालाई बोर्डिङमा पढाउन नपाउने बडीमालिका नगरपालिकाको तेस्रो बैठकबाट निर्णय गरिए छ ।

नगरपालिकाभित्रका छोराछोरी र सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारीले बोर्डिङमा पढाउने गरेको र सर्वसाधारणका छोराछोरी सरकारी विद्यालयमा पढ्ने भएकाले शिक्षामा एक रुपता ल्याउनका लागि बैठकबाट निर्णय गरिएको नगर उप–प्रमुख कविता बुढा (विष्ट)ले जानकारी दिएकी छिन् ।

विभिन्न उपसमितिमार्फत आएका सुझाव र निर्णयलाई कार्यसमितिमा प्रस्तुत गर्दै नगरवासीको हितमा निर्णय गरिएको उनको भनाइ रहेको छ ।

नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा दरबन्दी कम भएका तर माध्यमिक विद्यालय सञ्चालन गरिएका विद्यालय समायोजन गरिने भएका छन् । कृषि क्षेत्रका एक घर एक करेसाबारीको नीति पारित गरेको नगर प्रमुख पदम बडुवालले बताए । प्रत्येक घरमा खानेपानी, विद्युत्लगायतका योजना पु¥याउने गरी निर्णय पारित भएको डडुवालले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्