प्रचारका लागि प्रचण्डको दौडाहा

काठमाडौं, भदौ १८ । माओवादी अध्यक्ष प्रचण्ड शनिबार बिहान चन्द्रनिगाहपुरको सडकमा भेटिए । उनी ट्र्याकसुटमा थिए । निर्वाचन कार्यक्रममा भाग लिन आएका प्रचण्डले बिहान स्थानीयसँगै मर्निङ वाक मात्र गरेनन्, सँगै चिया पनि खाए ।
प्रचण्डले चन्द्रपुर नगरपालिकाको जुडिबेलाका मतदातासँग चिया पसलमै आफ्ना उम्मेदवारका लागि भोट पनि मागे ।

प्रचण्डले चन्द्रनिगाहपुरमा दुई रात बिताए । बिहीबार र शुक्रबार निर्वाचनसम्बन्धी छलफल र सभा सकेर उनी शनिबार बिहानै वीरगन्ज गए । उनी वीरगन्जमा शनिबार हुने सचिवालय बैठकमा भाग लिन त्यता गएका हुन् ।

 

 

प्रचण्ड मात्र नभएर ठूला दलका शीर्ष नेता जिल्ला आउने क्रम बाक्लिएको छ । यसअघि एमाले नेता माधवकुमार नेपाल, संघीय समाजवादी फोरम सह–अध्यक्ष अशोककुमार राईलगायतले रौतहटका मतदातालाई भेटिसकेका छन् । अन्य दलका ठूला नेतासमेत रौतहट आउने क्रम जारी छ । बाढीले आक्रान्त रौतहटमा चुनावको मुखमा राहत बाँड्ने बहानामा नेताहरू मतदातासम्म पुगिरहेका छन् ।

केन्द्रीय नेता जिल्ला आउँदा विभिन्न पार्टीबाट प्रवेश गर्नेको संख्या पनि उत्तिकै छ । एमाले नेता नेपाल, माओवादी अध्यक्ष प्रचण्ड र संघीय समाजवादी फोरम सह–अध्यक्ष राईलाई पार्टी प्रवेश गराउन भ्याइनभ्याई भएको थियो ।

एमाले नेता नेपाल पाँच दिन जिल्ला बसे । सो अवधिमा उनले एक हजारभन्दा बढीलाई पार्टीमा भित्र्याए । यसैगरी, माओवादी अध्यक्ष प्रचण्डले करिब तीन हजारलाई पार्टी प्रवेश गराएको बताइएको छ । संघीय फोरमका सह–अध्यक्ष राईले पनि करिब सयजनालाई पार्टी प्रवेश गराए । राजपा नेपालमा पनि प्रवेश गर्नेको लर्को ठूलो रहेको महासचिव अजय गुप्ताले दाबी गरेका छन् ।

उम्मेदवार घोषणामा एमाले अगाडि रहे पनि केही नगरपालिकामा अझै टुंगो लगाउन बाँकी छ । कांग्रेस र माओवादीले भने उम्मेदवारको छिनोफानो गर्न सकेका छैनन् । संघीय फोरम र राजपा नेपाल उम्मेदवार छनौटका लागि छलफलमै छन् ।

निर्वाचन मिति नजिकिँदै जाँदासमेत कुनै पनि दलले सम्पूर्ण रूपमा उम्मेदवार टुंगो लगाउन नसक्नुको कारण दाबेदार धेरै हुनु नै भएको बताइएको छ । एमाले, कांग्रेस, माओवादी केन्द्र, संघीय फोरम तथा राजपा नेपालभित्र टिकटका लागि हानथाप गर्ने आकांक्षीको संख्या ठूलो रहेको स्थानीय नेताले बताएका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!