१० हजारजनालाई माक्र्सवादको अध्ययन गराइने

काठमाडौं, भदौ १८ ।  कार्ल माक्र्स द्विशतवार्षिकी समारोह राष्ट्रिय समितिले १० हजार जनालाई माक्र्सवादको अध्ययन गराउने भएको छ ।

एमालेका उपमहासचिव एवं राष्ट्रिय समितिका संयोजक घनश्याम भुसालले धुलिखेलमा संचालित ५ दिने ‘कार्ल माक्र्स राष्ट्रिय स्कूल’ को समापन कार्यक्रममा यस्तो जानकारी गराएका हुन् ।

सो स्कूलमा एमाले, नेकपा संयुक्त, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा नेपाल र स्वतन्त्र गरी ३५० बढी युवाको सहभागीता थियो । गहन छलफलका लागि उपस्थित सहभागीहरुलाई पाँचवटा समूह बनाई अन्तरक्रियात्मक ढंगले विमर्श गरिएको थियो ।

१३ देखि १७ भदौसम्म आवासीय रूपमा चलेको स्कूलमा द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद, राजनीतिक अर्थशास्त्र, ज्ञान सिद्धान्त, माक्र्सवादी नारीवाद, विश्वव्यापीकरण र अन्तर्राष्ट्रिय राजनीति, बेल्ट एन्ड रोड इनिशियटिभ र नेपाल–चीन–भारतको त्रिदेशीय सहकार्यलगायतका विषयमा राजनीतिज्ञ तथा विज्ञहरुबाट प्रशिक्षण र विमर्श गरिएको थियोे ।

 

 

कार्ल माक्र्सको जन्म द्विशतवार्षिकीको सन्दर्भमा माक्र्सवादी विचार तथा सिद्धान्तको प्रचार प्रसार गर्न गठित राष्ट्रिय समितिले माक्र्सवादका आधारभूत सिद्धान्त एवं नेपालको कम्युनिष्ट आन्दोलनका करिब ७ दशकका अनुभव, शिक्षा र आगामी बाटोबारे नयाँ पिँढीलाई जानकारी र दिशानिर्देश गर्न उक्त स्कूलको उद्देश्य रहेको आयोजक समितिका डा. विजय पौडेलले बताए ।

स्कूलमा नेपाली वाम आन्दोलनका शिक्षाबारे वरिष्ठ नेताहरू मोहनविक्रम सिंह, वामदेव गौतमले प्रशिक्षण दिएका थिए । यसैगरी, कांग्रेस नेता प्रदीप गिरिले ‘माक्र्स एवं उनका देन’ र चैतन्य मिश्रले ‘माक्र्सवादी अध्ययनका लागि केही सरोकार’बारे सम्भाषण दिएका थिए ।

नयाँ पत्रिकाबाट

कमेन्ट गर्नुहोस्

error: Content is protected !!