‘फ्रि भीसा र टिकट’ विवरण नपठाउने ३० म्यानपावर कारबाहीमा

काठमाडौं, भदौ १७ । वैदेशिक रोजगार विभागले खाडी र मलेसिया जस्ता देशहरुमा जाने कामदारलाई निशुल्क भिसा र टिकटमा पठाएको विवरण नपठाउने म्यानपावर कम्पनीहरुलाई कारबाही थालेको छ । अटेर गर्ने कम्पनीहरुलाई हाल एक लाख रुपियाँ सम्म जरिवाना गरिएको र अझै अटेर गरे कम्पनी खारेजसम्म गरिने विभागका अधिकारीहरुले बताएका छन् । तर वैदेशिक रोजगार व्यवसायी संघले फ्री भिसा फ्री टिकटबारे सरकारको निर्णय पुनरावलोकन गर्न सजिलो हुने भन्दै प्रतिवेदन मागिएको तर उल्टो त्यसैका आधारमा कारबाही अगाडी बढाइएको भन्दै आपत्ति जनाएको छ ।

वैदेशिक रोजगारीमा जाने कामदारसँग टिकट र भिसा वापतको रकम लिन नपाउने व्यवस्थाको कार्यान्वयन नभएको भन्दै आलोचना भएपछि वैदेशिक रोजगार विभागले कामदार पठाउने कम्पनीहरुसँग त्यसको विवरण मागेको थियो । तर बारम्बार ताकेता गर्दा पनि केही म्यानपावर कम्पनीहरुले त्यस्तो विवरण बुझाउन अटेर गरेको भन्दै विभागले उनीहरुलाई कारबाही गरेको छ ।

विभागका निर्देशक समेत रहेका प्रवक्ता मोहन अधिकारीले भने “१५ वटा म्यानपावर कम्पनीलाई समयमा विवरण पेश नगरेको भनेर ५० हजार रुपियाँ जरिवाना गरेका छौं । स्पस्टिकरण सोध्दा समेत विवरण नबुझाउने १६ वटा कम्पनीलाई १ लाख जरिवाना गरेका छौं । अझै पनि अटेर गरे भने कम्पनी खारेज सम्म हुन सक्छ ।” करिब ७ सय ५० वटा कम्पनीले विवरण बुझाएको र ती विवरणको अध्ययन भैरहेको बताइएको छ ।

पठाएको विवरणमा म्यानपावर कम्पनीले झुठो विवरण उल्लेख गरिएको पाइएमा पनि कारबाही गरिने निर्देशक अधिकारीले बताए । उनले भने “पहिले वार्षिक प्रतिवेदन पनि हामीलाई बुझाएका हुन्छन् । त्यो विवरण र उनीहरुले पछि पठाएको विवरणमा तालमेल नभएको देखिएमा हामी उनीहरुलाई ढाँटेको, विवरण लुकाएको कसुरहरुका आधारमा कारबाहीको दायरामा ल्याउछौं ।”

विभागले थालेको कारबाही प्रति व्यवसायीहरुले असन्तुष्टी जनाएका छन् । फ्री भिसा फ्री टिकटको निर्णय फिर्ता लिनु पर्ने आफ्नो मागलाई सम्बोधन गर्न सजिलो हुने भन्दै विवरण मागिएको तर उल्टो त्यसैलाई आधार बनाएर कारबाही थालिएको उनीहरुको आरोप छ । वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले भने “सुधारका लागि भन्दै विवरण मागेकाले हामीले बुझाएका हौं । अहिले आएर व्यवसायीले समयमा बुझाएनन् भनेर ५० हजार र १ लाख सम्म कारबाही गर्ने चिठी काट्ने र कारबाही गर्ने काम भैरहेको छ। यस प्रति हामी खेद व्यक्त गर्दछौं ।” फ्री भिसा फ्री टिकटको निर्णय फिर्ता लिन व्यवसायीहरुले सरकारलाई बारम्बार दवाव दिंदै आएका छन् ।

तर वैदेशिक रोजगार विभागले आफू कार्यान्वयन गर्ने निकाय भएकाले सरकारले निर्णय फिर्ता नलिए सम्म सरकारी नियम नमान्ने कम्पनीमाथिको कारबाही जारी राख्ने जनाएको छ । दैनिक झन्डै १५ सय कामदार रोजगारीका लागि तेस्रो मुलुकमा जाने गरेको बताइन्छ । उनीहरुको प्रति व्यक्ति सरदर एक लाखसम्म टिकट र भिसाका लागि खर्च हुने गरेको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!