चितवनमा निर्वाचन क्षेत्र निर्धारण, प्रदेशको क्षेत्र निर्धारणमा एमाले टेडियो

चितवन, भदौ १६ । आगामी प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनका लागि चितवनमा क्षेत्रको निर्धारण गरिएको छ । प्रदेश सभाका लागि ६ र प्रतिनिधि सभाका लागि ३ क्षेत्र निर्धारण गरिएको हो ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १, २ र ३ मा प्रदेश सभाका २/२ वटा निर्वाचन क्षेत्र तय गरिएको छ ।

प्रतिनिधि सभाको निर्वाचनका लागि चितवनमा क्षेत्र नम्बर १ अन्तर्गत हालको राप्ती, खैरहनी र रत्ननगर नगरपालिका तोकिएको छ । प्रदेश सभामा भने क्षेत्र नम्बर १ मा राप्ती नपा र खैरहनी नपाको वडा नम्बर ३, ६, ७, ८, ९, १० र ११ तोकिएको छ ।

प्रदेश सभाअन्तर्गत क्षेत्र २ मा खैरहनी नपाको वडा नम्बर १, २, ४, ५, १२ र १३ तथा सिंगो रत्ननगर नगरपालिका तोकिएको छ ।

प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत कालिका नपा, इच्छाकामना गाउँपालिका र भरतपुर महानगरको वडा नम्बर १ , २, ३, ४, ५, ७, १०, ११, १२ र २९ तोकिएको छ । यस क्षेत्र अन्तर्गत प्रदेश सभाको निर्वाचन क्षेत्र नम्बर १ मा कालिका नपा इच्छाकामना गापा र भरतपुर महानगरको वडा नम्बर १, ३ र २९ रहेका छन् ।

यस क्षेत्रको प्रदेश क्षेत्र नम्बर २ मा भरतपुर महानगरपालिकाको २, ४, ५, ७, १०, ११ र १२ वडा रहेका छन् ।

प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ३ अन्तरगत भरतपुर महानगरपालिका वडा नम्बर ६, ८, ९, १३, १४, १५, १६, १७, १८, १९, २०, २१, २२, २३ , २४, २५, २६, २७, २८ वडा र माडी नगरपालिका सिंगो रहेको छ ।

यस निर्वाचन क्षेत्रको प्रदेश सभाअन्तर्गत निर्वाचन क्षेत्र १ मा भरतपुर महानगरपालिका वडा नम्बर ६, ८, ९, १५, १६, १७, १८रु १९, २०, २६, २७ र २८ नम्बर वडा रहेका छन् । क्षेत्र २ मा भरतपुर महानगरको १३, १४, २१, २२, २३, २४ र २५ वडा तथा सिंगो माडी नगरपालिका रहेका छन् ।

प्रदेशको क्षेत्र निर्धारण गर्दा सत्ताको दबाबमा गरिएको भन्दै एमाले चितवनले असहमति जनाएको छ । सत्ताको आडमा उनीहरुलाई नै हित हुने गरी प्रदेशको निर्वाचन क्षेत्र निर्धारण गरिएको नेकपा एमालेका जिल्ला उपाअध्यक्ष तेजेन्द्र खढ्काले आरोप लगाए ।

सरकारद्वारा गठित निर्वाचन क्षेत्र निर्धारण आयोगले दिएको प्रतिवेदनमा चितवनमा निर्वाचन क्षेत्र टुंगो लगाइएको हो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!