निर्वाचन आचारसंहिताले कर्मचारीको नियमित सरुवा रोक्याे

काठमाडौं, भदौ १६ । सरकारले हरेक वर्ष साउन–भदौमा गर्नेे कर्मचारीको नियमित अन्तरमन्त्रालय सरुवा यसपटक नहुने भएको छ । निर्वाचन आयोगले बुधबारबाट लागू हुने गरी निर्वाचन आचारसंहिता जारी गरेपछि सरकारले कुनै पनि सरुवा नगर्ने बताएको हो । निर्वाचन आचारसंहिताका कारण अब सबै कर्मचारीको सरुवा र बढुवा प्रक्रिया रोकिने सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

‘निर्वाचन आचारसंहिता लागू भइसकेकाले हरेक वर्ष साउन–भदौमा हुने नियमित अन्तरमन्त्रालय सरुवा यो वर्ष नहुने भएको छ,’ सामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेतले  भने, ‘निर्वाचन आयोगको सहमतिमा स्थानीय तहमा काजमा कर्मचारी पठाउन सकिन्छ । अरू मन्त्रालयमा सरुवा गर्न आचारसंहिताले दिँदैन ।’ निजामती सेवा नियमावलीअनुसार सामान्य प्रशासन मन्त्रालयले हरेक वर्षको भदौ महिनाभरि खरदारदेखि उपसचिवसम्मका कर्मचारीको अन्तरमन्त्रालय सरुवा गर्ने र असोज महिनाभरि मन्त्रालयले अन्तरकार्यालयमा कर्मचारीको सरुवा गर्ने प्रचलन थियो ।

मन्त्री बस्नेतले आयोगको सहमतिमा स्थानीय तहका लागि आवश्यक पर्ने कर्मचारी भने खटाउने बताएका छन् । उनले स्थानीय तहमा आवश्यक पर्ने कर्मचारीलाई काजमा पठाउने र अन्य कार्यालयमा पनि अति आवश्यक परे निर्वाचन आयोगको सहमतिमा कर्मचारीको सरुवा गर्न सकिने उल्लेख गरे । मन्त्री बस्नेतले स्थानीय तह र अति आवश्यक स्थितिबाहेक सरुवा–बढुवा नहुने बताएका हुन् ।

चुनावअघि नै समायोजन प्रक्रिया

मन्त्री बस्नेतले १० र २१ मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनअघि नै कर्मचारी समायोजन प्रक्रिया अघि बढाउने बताए । अब मन्त्रालयले कर्मचारी समायोजनमा ध्यान केन्द्रित गर्ने जानकारी दिए । स्थानीय तह र प्रदेश सरकार संरचनालाई सक्रिय बनाउन पनि कर्मचारी समायोजनको गृहकार्य थाल्ने उनले बताएका हुन् । मन्त्री बस्नेतका अनुसार समायोजनका लागि स्थानीय तह र प्रदेशका लागि दरबन्दी सर्वेक्षणको कामसमेत सुरु भइसकेको छ ।

संसद्मा विचाराधीन कर्मचारी समायोजन ऐन चाँडै ऐनका रूपमा आउने विश्वास जनाउँदै मन्त्री बस्नेतले त्यसलगत्तै समायोजन थालिने उल्लेख गरे । उनले दरबन्दी सर्वेक्षणका लागि मन्त्रालयले गृहकार्य अघि बढाइसकेकाले ऐन प्राप्त हुनेबित्तिकै समायोजनको काम ढिलो नगर्ने बताए । उनले निर्वाचन सम्पन्न भइसक्दा सबै तहका सरकारमा संघका कर्मचारी समायोजन भएर पुगिसक्ने वातावरण बनाउन चाहेको बताए । -नयाँ पत्रिकाबाट

कमेन्ट गर्नुहोस्

error: Content is protected !!