‘मनसुन’मार्फत् सुबिनले कोरेको प्रेमको बाटो

सुभानले भोगेको जुन पीडा छ,जुन धोका छ त्यो उसको निजी भोगाइ मात्र होइन, युवा पुस्ताको सामाजिक भोगाइ हो ।

महेश क्षितिज
सुबिन भट्टराई तन्नेरी युवा पुस्ताको मन जितेका लेखक । युवाहरुले भोग्ने प्रेम, विछोड, धोका घृणाका कुरालाई टपक्कै टिपेर लेख्न सक्ने क्षमता राख्ने उनले यसअघि समर लभ र सायामा युवाको मन छामिसकेका थिए । त्यसो त उनको लेखनशैलीलाई केहीले गाली नगरेका पनि होइनन्, तर सुबिनले त्यो गालीलाई ‘प्रसाद’को ग्रहण गरे र लेखे फेरि युवाकै कथा ‘मनसुन उपन्यास’मा ।

उपन्यास पढ्दै गर्दा समाज पनि पढ्छन्, संस्कृति पनि पढ्छन् र पढ्छन् आख्यानको बाटो र प्रेम गर्ने तरिका पनि ।

mahesh kshitiz 1 copy
लेखक:महेश क्षितिज

‘मनसुन’ उपन्यासभित्र सुबिनले प्रेमको कला प्रस्तुत गरेका छन् । प्रेम सवैभन्दा महत्त्वपूर्ण कुरा हो भन्ने कुरामा सुबिन खुलस्त छन् । मनसुन युवापुस्ताको प्रेम, यौन सम्बन्ध र बिछोडमा मात्रै सीमित छैन । उपन्यास पढ्दै गर्दा हरेक पाठकका दिमागमा समाजका विविध संस्कृतिहरु पनि पालैपालो आउन थाल्छन् ।
२५३ पृष्ठमा संरचित ‘मनसुन’ सुबिन भट्टराईको तेस्रो प्रेम उपन्यास हो । कथाकी पात्र कथा सङ्ग्रह मार्फत् पुस्तकाकार कृति सुरु गरेका सुबिनको लेखनले प्रेमको गोरेटोलाई अवलम्बन गरेको छ । समर लभ र साया जस्ता उपन्यासका माध्यमबाट हरेक युवा पाठकको ढुकढुकी बन्न सफल सुबिनले फरि अर्को चमत्कार मनसुनमा गरेका छन् ।

सुभानले भोगेको जुन पीडा छ,जुन धोका छ त्यो उसको निजी भोगाइ मात्र होइन, युवा पुस्ताको सामाजिक भोगाइ हो ।


समर लभमा जुन प्रकारको प्रेम कथा लिएर नेपाली उपन्यासमा उनी उदाए र चर्चा पनि कमाए । समर लभकै दोस्रो भाग भन्दै बजारमा सायालाई ल्याए तर समर लभकै स्वाद र शैलीमा सायालाई प्रस्तुत गरे । यसबामट नेपाली उपन्यास साहित्यका पाठकहरुले सुबिनबाट जुन अपेक्षा राखेका थिए त्यो पूरा नभएको गुनासो गरे । समर लभ पढेका पाठकले त्यही स्वादको कृति दोहो¥याएर पढ्नुपर्ने अवस्था सायामा छ भन्ने प्रतिकृया दिन थालेपछि सुबिनबाट पनि नयाँ आएन भन्ने पाठक गुनासो रहयो । समर लभमा पाएको सफलतालाई जोगाउन सुबिनले मनसुनमा धेरै मेहेनत गरेका छन् । प्रेम र यौनमा मात्रै लेखनलाई सीमित नगरेका सुबिनले यस उपन्यासमा सामाजिक परिघटनाहरुलाई पनि उपन्यासको कथानक बनाएका छन् ।

यो उपन्यासमा आइपुग्दा सुबिनभित्रको प्रेमको बाटो सामाजिक र श्लील खालको बनेको देखिन्छ । कलेज पढ्ने युवा युवतीले मात्र सुबिनका उपन्यास पढ्ने होइन अब साठी, सत्तरीका पुस्ताले पनि उनका उपन्यास पढ्छन् भन्ने कुराको उदाहरण सुभानको हजुरबाको कथाले बोकेको छ । हरेक कृति जन्मिनुका पछाडि विविध कारणहरु हुन्छन् । ती कारणहरुको आधार स्रोत भनेको हाम्रो सामाजिक भोगाइ हो जुन भोगाइमा प्रेमका तिता मिठा अनुभव र अनुभूति सँगै आएका हुन्छन् । त्यसैले त साहित्य कृतिलाई समाजको खोल भनिन्छ । युवापुस्ताको प्रेम, धोका, यौन र रोमान्सभित्र हुर्किएको अनुभूतिलाई सुबिनले उपन्यासको कथानक बनाउछन् र समाजका युवापुस्तालाई दिन्छन् । हरेक युवापुस्ताले सुबिनकृत प्रेम उपन्यास पढ्दै गर्दा समाज पनि पढ्छन्, संस्कृति पनि पढ्छन् र पढ्छन् आख्यानको बाटो र प्रेम गर्ने तरिका पनि ।

उपन्यासको अन्त्य सुबिनले जुन किसिमले गरेका छन् त्यो अन्त्यले हरेक युवा वर्गले आफूलाई प्रेमको गहिराइमा डुब्नु अगाडि विचार गर्नुपर्ने गहिरो पाठ सिकाएका छन् ।


उपन्यासभित्रको मनसुुन र सुभानको प्रेम कथालाई रोचक बनाउनका लागि सुबिनले यस उपन्यासमा अन्य सहायक पात्र र सहायक कथाको विन्यास पनि गरेका छन् । धरान, काठमाडौँ र मलेखुलाई मुख्य कार्यपीठिका बनाएर लेखिएको मनसुन उपन्यासभित्र सुभान र मनसुनले नियति बस भोग्नु परेको पीडा समेटिएको छ । सुन्दरे र रामेश्वर सुभानका मिल्ने साथी हुन् । उनीहरुको सामाजिक क्रियाकलाप जसरी अगाडि बढिरहेको देखिन्छ त्यसमा सुभान चाहिँ नियति बस हरेक ठाउँमा ठगिएको छ । आफूले मन पराएकी रिया जोशी अर्कैकी हुनु, फेरि प्राप्ति नाम गरेकी केटीसँग सुभानको बिहे हुन नसक्नु आदि जस्ता उपन्यासभित्रका घटनाहरुले अहिलेको युवाप्रेमको दस्ताबेज नै प्रस्तुत गरेको देखिन्छ ।

सुबिन भट्टराई
बिधा : उपन्यास
प्रकाशक : फाइनप्रिन्ट बुक्स
पृष्ठ : २५३
मुल्य : रु. ३१८

उपन्यासकी नायिका मनसुन अन्तर्मुखी स्वभावकी देखिन्छे जसका कारण सुसाइट गर्ने स्थितिमा पुगेकी छे । धरान हस्टिलमा मृत्युसँग छटपटाइरहेकी मनसुनलाई भेट्न गएको सुभानले भएको जागिर पनि छ । सुभान चिया खानकै लागि धरान गएको प्रसङ्गलाई सुबिनले युवाहरुको पागलपनलाई समेत जोडेका छन् । मनसुन निको हुनुका पछाडि सुभानकै ठूलो हात छ । लामो हस्पिटल बसाइ पश्चात् निको भएकी मनसुनसँग शाारीरिक सम्बन्ध राखेको सुभानले हजुरबाको मृत्युलाई पनि सहेको छ । हजुरबा हस्टिलमा हुनुहुन्छ भन्ने थाहा पाएर पनि मनसुनको माया पाउन धरानमै भुलेको सुभानले हजुरबा भेट्न नपाएको घटनाले हरेक पाठकभित्र करुणा उत्पन्न हुन्छ । धरानबाट काठमाडौँ पुगेर हजुरबालाई भेट्न हस्पिटल पुग्नु पनि हजुरबाको मृत्यु हुनुले सुभानमाथि चोट थपेको छ ।
मनसुनको व्यवहार हरेक पटक बदलिनुका पछाडि उसले प्रेम गरेको केटाले उसलाई बेवास्ता गर्नु हो । मनसुनले माया गरेको केटाले बिचमा धोका दिएपछि फिनायल खाएर आत्महत्या गर्न चाहेकी हो तर ऊ सफल हुन सकेकी छैन । सुभानलाई माया गरेको भ्रममा राखेर काठमाडौँसम्म सुभानलाई भेट्न पुगेकी छ । सुभानको हजुरबाको मृत्यु हुँदा पनि फेरि दास्रो चोटि ऊ काठमाडौँ पुगेकी छ । काठमाडौँबाट बर्थडे मनाउन मनसुन बस्ने सहर धरान पुगेपछि सुभानको मनसुृनसँगको सम्बन्ध पनि सकिएको सम्बन्धमा सुभानले भनेको छ :
उसको नाम मात्र मनसुन थिएन । काम पनि मनसुन नै थियो ।

उनको प्रेम कथाको शैलीमा खोट लगाउने ठाउँ त छैन तर कथानक उठान र समापन सबै कृतिमा समान रुपले आउँदा एउटै स्वादको चकलेट नखान पाए हुन्थ्यो भन्ने आमपाठकको गुनासोलाई सुबिनले पूरा गर्न फेरि बाँकी राखेका छन् ।


जो एउटा सिजनमा आई । मलाई भिजाउनु थियो भिजाई । जसले हरियो बनाइदिई मेरो जीवन । बाढी रपहिरो ल्याई र बेवारिस छाड्दै अन्त्यमा रुख्याएर गई ।(पृ.२५३)
मनसुनले सुभानलाई छोडेर सुसाइट गर्न बाध्य पार्ने केटासँगै आफू रमाउन सक्छु भनेकी छ । मनसुनकै लागि जागिर त्यागेको सुभानको जिन्दगी कतैबाट पनि संगत बन्न सकेको छेन । आफूलाई माया गर्नै हजुरबालाई मर्ने बेलामा नभेट्नु, आफूले सवैभन्दा बढी माया गर्ने मनुननले तिमलिाई माया गर्न सक्दिनँ भन्नुले उसलाई तनाब सिर्जना भएको छ । सुभानले भोगेको जुन पीडा छ,जुन धोका छ त्यो उसको निजी भोगाइ मात्र होइन, युवा पुस्ताको सामाजिक भोगाइ हो ।

उपन्यासको अन्त्य सुबिनले जुन किसिमले गरेका छन् त्यो अन्त्यले हरेक युवा वर्गले आफूलाई प्रेमको गहिराइमा डुब्नु अगाडि विचार गर्नुपर्ने गहिरो पाठ सिकाएका छन् । प्रेम कथासँगै सामाजिक भोगाइलाई उपन्यासभित्र समेटेर कलात्मक ढंगले प्रस्तुत गर्नु सुबिनको उपन्यास लेखनको मौलिक विशेषता हो । सुबिनको लेखनमा एउटै धार छ, जुन समर लभमा थियो र मनसुनको कथा अन्त्यमा पनि त्यस्तै स्वाद छ । उनको प्रेम कथाको शैलीमा खोट लगाउने ठाउँ त छैन तर कथानक उठान र समापन सबै कृतिमा समान रुपले आउँदा एउटै स्वादको चकलेट नखान पाए हुन्थ्यो भन्ने आमपाठकको गुनासोलाई सुबिनले पूरा गर्न फेरि बाँकी राखेका छन् । समग्रमा भाषागत,पात्रगत र रीतिगत रुपमा नेपाली उपन्यास साहित्यमा प्रेमको गोरेटोलाई निरन्तरता दिएर लेखिएको मनसुन समसायिक उपन्यास विधाको उत्कृष्ट कृति हो ।

कमेन्ट गर्नुहोस्